काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष तथा चाडपर्वको अवसरमा आफ्ना ग्राहकलाई विशेष राहत दिने उद्देश्यले इन्टरनेट र मोबाइल सेवामा विभिन्न छुट तथा अफरहरू ल्याएको छ। दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कम्पनीले ‘दसैँ–तिहार अफर २०८३’ ल्याएको हो।
यो योजना अन्तर्गत असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्म नयाँ फाइबर इन्टरनेट (FTTH) जडान गर्ने ग्राहकहरूले जडान शुल्कमा ५०० रुपैयाँ छुट पाउनेछन् । साथै, १००, १५० र २०० एमबीपीएस क्षमताका वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने उपभोक्ताले १२ महिनाको महसुलमा १३ महिनासम्म सेवा उपभोग गर्न पाउने सुविधा मिलाइएको छ । भर्चुअल सेटटप बक्ससहितको प्याकेज लिन चाहने ग्राहकका लागि भने एक हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
त्यस्तै, मोबाइल प्रयोगकर्ताका लागि ४९९ र ६९९ रुपैयाँका असीमित डाटा प्याकेजहरू उपलब्ध गराइएको छ । सबै नेटवर्कमा कुराकानी गर्न मिल्ने गरी २०० रुपैयाँमा एक हजार मिनेटको भ्वाइस प्याकेज र नेपाल टेलिकमको आफ्नै नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी ९९ रुपैयाँमा एक हजार वटा एसएमएस प्याकेज ल्याइएको छ । यी सबै मोबाइल प्याकेजहरूको समयावधि ३० दिनको रहनेछ ।
कम्पनीका अनुसार मोबाइलतर्फका अफरहरू असोज ३० देखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिनेछ । ग्राहकहरूले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा टेलिकमको आधिकारिक एपमार्फत यी सेवाहरू सजिलै सुचारु गर्न सक्नेछन् ।

