काठमाडौँ । नेपाली काँग्रेसको नेतृत्व सम्हालेसँगै नवनिर्वाचित सभापति गगन थापाले सङ्गठन सञ्चालनको परम्परागत ढाँचा पूर्ण रूपमा फेर्ने सङ्कल्प व्यक्त गरेका छन् ।
विजयपश्चात् सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै थापाले प्राप्त परिणामलाई व्यक्तिगत सफलताभन्दा पनि ठूलो जिम्मेवारीका रूपमा ग्रहण गरेको बताए । असन्तुष्ट बनेर पार्टी छाडेका सम्पूर्ण कार्यकर्ताहरूलाई पुनः घर फर्काउने अभियान चलाइने स्पष्ट पार्दै उनले काँग्रेसलाई नयाँ ढङ्गबाट अगाडि बढाउने प्रतिबद्धता जनाए । विगतको विरासतमा मात्रै सीमित नभई महाधिवेशनको जनादेश प्रयोग गरेर नयाँ इतिहास निर्माण गर्न आफूहरू मैदानमा उत्रिएको उनको भनाइ थियो ।
विशेष गरी सुशासनका पक्षमा उभिएका थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने दृढता व्यक्त गरे । आफूसहित पार्टीको जुनसुकै तहको नेता वा कार्यकर्ता अनियमिततामा मुछिएमा त्यसको संरक्षण काँग्रेसले नगर्ने र कसैको व्यक्तिगत कसुरको भारी पार्टीले नबोक्ने उनले चेतावनी दिए ।
आफ्नो सम्बोधनका क्रममा थापाले भने, “युवा पुस्तामाझ पुगेर हामी काँग्रेसको गौरवशाली इतिहासको चर्चा त गर्नेछौँ, तर इतिहासको ब्याज खाएर वा इतिहास रटेर बस्न आएका होइनौँ । नयाँ इतिहास आफैँ निर्माण गर्ने सामर्थ्यका साथ हामी महाधिवेशनबाट चुनिएर आएका हौँ ।”
यसैबिच, थापाले आफूलाई सहयोग पुर्याउने वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माप्रति आभार व्यक्त गरे । शीर्ष नेताहरूबिच निरन्तर खिचातानी हुने विगतको नजिरलाई उल्लेख गर्दै उनले गगन र विश्वको सहकार्यले पार्टीभित्रको आन्तरिक सम्बन्धलाई नयाँ उचाइ र दिशा दिने दाबी समेत गरे ।

