काठमाडौँ । नेपालमा पश्चिमी र मनसुनी वायुको आंशिक असर कायम रहँदा मुलुकका पहाडी तथा हिमाली भू-भागमा बदली र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रको मौसम भने सफा रहनेछ ।
महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी र हिमाली क्षेत्रमा साधारण बदली हुनेछ भने मध्य पहाडी भागमा आंशिक रूपमा बादल लाग्नेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको अनुमान गरिएको छ । त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा समेत हल्कादेखि मध्यम वर्षा र हिमपात हुनसक्छ।
आज राति पनि हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भागमा आंशिक बदली हुनेछ । हिमाली क्षेत्रका एकाध स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहनेछ भने तराई भागमा मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

