काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण विभिन्न प्रदेशका हिमाली तथा पहाडी भू-भागमा बदली देखिए तापनि यो वर्षको दशैँमा ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सार्वजनिक गरेको विशेष मौसम बुलेटिन अनुसार नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिसकेकाले पर्वको समयमा देशभरको मौसम सामान्यतया अनुकूल नै रहनेछ ।
यद्यपि, नवमीदेखि दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बदली भई एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
वर्षा वा हिमपातको सम्भावना कम भए पनि हिमाली र पहाडी भेगमा यात्रा गर्ने सर्वसाधारणलाई चट्याङ तथा मौसममा आउन सक्ने आकस्मिक फेरबदलप्रति सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

