काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ ।
अहिले देशका पहाडी तथा हिमाली क्षेत्रका साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगमा सामान्य बदली रहेको छ भने बाँकी भागमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ । मधेश, कोशी र सुदूरपश्चिम प्रदेशको तराई भेगमा सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली रहने अनुमान छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेश, कोशी र सुदूरपश्चिमका तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्छ । कोशी, बागमती र सुदूरपश्चिमका पहाडी भू-भागका साथै कोशी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राति पनि देशका हिमाली र पहाडी भेगमा साधारणतया बदली नै रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थान, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
कोशीको तराईका केही स्थान, मधेशका थोरै स्थान र बागमती तथा गण्डकीका तराई भेगका एक-दुई स्थानमा वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

