काठमाडौँ । औपचारिक अर्थतन्त्र प्रवर्द्धन र बिलिङ संस्कारलाई थप प्रभावकारी बनाउन सरकारले अब उपभोक्ताका साथै बिक्री गर्ने व्यापारी (विक्रेता) लाई पनि नगद उपहार दिने तयारी थालेको छ ।
अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभागलाई आवश्यक कार्यविधि संशोधन गरी विक्रेता केन्द्रित प्रोत्साहन कार्यक्रम ल्याउन निर्देशन दिएका हुन् ।
उपभोक्तामा बिल माग्ने बानी बस्दै गए पनि कतिपय व्यापारी बिल जारी गर्न अझै हच्किने गरेको गुनासो आएपछि सरकारले यो नयाँ कदम चाल्न लागेको हो। चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू भएको करदाता प्रोत्साहन कार्यक्रममार्फत हरेक १५ दिनमा गोलाप्रथामार्फत नगद पुरस्कार वितरण गरिँदै आएको छ ।
हालसम्म ७४ जना उपभोक्ताले जनही रु. १ लाख र ५ जनाले रु. ७ लाख ५० हजारको बम्पर उपहार प्राप्त गरिसकेका छन् ।
विभागले बेलैमा कार्यविधि तयार गरेमा असोज १५ पछिको आगामी गोलाप्रथादेखि नै विक्रेताहरूलाई पनि पुरस्कारमा सहभागी गराइनेछ ।

