काठमाडौँ । नुवाकोट र रसुवा जोड्ने मुख्य सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउन वेत्रावतीमा बेलिब्रिज जडानको कार्य तीव्र रूपमा अघि बढाइएको छ । यातायात सेवा यथाशीघ्र सुचारु गराउन रातको समयमा समेत निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।
चालु अवस्थामा रहेको निर्माण कार्य हालसम्म करिब आधा सम्पन्न भइसकेको सडक विभागले जनाएको छ ।
निरन्तरको वर्षाका कारण काममा केही अवरोध सिर्जना भए तापनि चालु साताभित्रै जडान कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आगामी आइतबारसम्ममा बेलिब्रिजमार्फत दुवै जिल्लाबीचको सिधा यातायात पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

