काठमाडौँ । भारतीय चलचित्र जगत्का दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान ५:२० बजे उनलाई गम्भीर हृदयघात भएको थियो ।
गोवास्थित मणिपाल अस्पतालका वरिष्ठ चिकित्सक डा. शेखर सालकरका अनुसार चिकित्सक टोलीले करिब ४५ मिनेटसम्म निरन्तर हृदय पुनर्जीवन (CPR) प्रयास गरे पनि उनलाई बचाउन सकिएन । घटना सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको र शव परीक्षणको तयारी भइरहेको अस्पतालले जनाएको छ ।
सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगढ जिल्लामा विश्वनाथ पाटेकरका रूपमा जन्मिएका उनले नेपाली तथा हिन्दी चलचित्रप्रेमी माझ ‘नाना पाटेकर’को नामबाट विशिष्ट पहिचान बनाएका थिए । उनी अभिनयका अलावा निर्माता, निर्देशक तथा लेखकका रूपमा समेत सक्रिय थिए ।
सन् १९७८ मा प्रदर्शनमा आएको चलचित्र ‘गमन’बाट बलिउड यात्रा सुरु गरेका पाटेकरले ‘सलाम बम्बे!’ र ‘परिन्दा’ जस्ता कालजयी चलचित्रमार्फत आफ्नो सशक्त अभिनय क्षमता प्रमाणित गरेका थिए । ‘परिन्दा’मा निभाएको भूमिकाका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार र फिल्मफेयर पुरस्कार दुवै प्राप्त गरेका थिए ।
उनले अभिनय गरेका ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’ र ‘वेलकम’ सिरिज दर्शकमाझ निकै चर्चित छन् । विशेष गरी सन् १९९४ को बहुचर्चित चलचित्र ‘क्रान्तिवीर’का लागि उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए ।
आफ्नो अभिनय यात्रामा तीनवटा राष्ट्रिय चलचित्र पुरस्कार, चारवटा फिल्मफेयर र दुईवटा फिल्मफेयर मराठी पुरस्कारबाट सम्मानित पाटेकरलाई भारत सरकारले सन् २०१३ मा देशको चौथो सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’ प्रदान गरेको थियो । उनले निर्देशन गरेको सैन्य पृष्ठभूमिमा आधारित चलचित्र ‘प्रहार : द फाइनल अट्याक’लाई पनि निकै रुचाइएको थियो ।

