काठमाडौँ । साहित्य क्षेत्रको सर्वोच्च मानिने सन् २०२६ को नोबेल पुरस्कार क्यानडाकी प्रसिद्ध लेखिका एनी कार्सनलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
प्राचीन ग्रिक तथा शास्त्रीय साहित्यलाई आधुनिक र सिर्जनात्मक शैलीमा ढाल्दै साहित्यका नयाँ रूप र सीमा निर्धारण गर्न महत्त्वपूर्ण योगदान पुर्याएकाले उनलाई यो सम्मान दिइएको नोबेल समितिले जनाएको छ ।
कार्सनका ‘अटोबायोग्राफी अफ रेड’, ‘द ब्यूटी अफ द हस्बन्ड’ र ‘नक्स’ जस्ता कृतिहरू संसारभर चर्चित छन् । सन् १९९८ मा प्रकाशित ‘अटोबायोग्राफी अफ रेड’ मा उनले प्राचीन ग्रिक कथालाई आधुनिक परिवेशमा कलात्मक ढंगले प्रस्तुत गरेकी छन् भने सन् २०१० को ‘नक्स’ आफ्ना दिवंगत भाइ माइकलको स्मृतिमा तयार पारिएको विशेष सिर्जना हो । उनका लेखनमा कविता, गद्य र प्राचीन साहित्यिक परम्पराको नयाँ प्रयोग स्पष्ट देखिन्छ ।
नोबेल समितिका अनुसार कार्सनले पारम्परिक साहित्यिक ढर्रालाई चुनौती दिँदै चित्रकला, रंगमञ्च लगायतका विभिन्न कला क्षेत्रसँग सहकार्य गरेर आफ्ना रचना प्रस्तुत गर्दै आएकी छन् । सन् १९९० को दशकदेखि नै उनका सिर्जनाले अन्तर्राष्ट्रिय साहित्य र कला जगत्मा गहिरो छाप छोड्दै आएका छन् ।

