काठमाडौँ । चीनसँगको सीमा जोड्ने हुम्लास्थित सिमकोट-हिल्सा सडकखण्डमा जमेको भारी हिउँ पन्छाउने काम सुरु गरिएको छ ।
असोज १० गतेदेखि परेको हिमपातका कारण अवरुद्ध बनेको नारा लेक क्षेत्रमा डोजर तथा जेसीबी परिचालन गरी बाटो खुलाउन थालिएको हो ।
समुद्री सतहदेखि चार हजार ६७० मिटर उचाइमा रहेको नारा लेकको सडकमा ३ फिटदेखि १३ फिटसम्म हिउँ थुप्रिएको छ । सडक योजना कार्यालयका अनुसार यारी क्षेत्रबाट नारा लेकतर्फ हिउँ हटाउने कार्य निरन्तर चलिरहेको छ । इन्धन व्यवस्थापनसहित परिचालन गरिएको प्राविधिक टोलीले मौसमले साथ दिएमा आगामी दुईदेखि तीन दिनभित्र सञ्चालनयोग्य बनाउने लक्ष्य राखेको छ ।
लामो समयदेखि यातायात ठप्प हुँदा हिल्सा नाकामा रहेका स्थानीय, व्यवसायी, सीमा सुरक्षाकर्मी तथा भन्सार र अध्यागमनका कर्मचारीको दैनिकी प्रभावित भएको छ ।
दसैँ-तिहारका लागि चीनको ताक्लाकोटबाट घर फर्किन लागेका नेपाली नागरिकहरू पनि बाटो खुल्ने पर्खाइमा छन् । स्थानीय ज्येष्ठ नागरिकका अनुसार यस क्षेत्रमा १५ वर्षपछि असोजमै यस्तो भारी हिमपात भएको हो । नारा लेकको हिउँ पन्छाउने काम भइरहे पनि सोही सडकखण्डको न्यालु लेकमा भने अझै हिउँ पन्छाउन बाँकी रहेको छ ।

