काठमाडौँ । नीति निर्माणलाई तथ्य र अनुसन्धानमा आधारित नबनाएसम्म राष्ट्रिय लक्ष्य हासिल गर्न नसकिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट पारेका छन् ।
देशको सामाजिक, आर्थिक, राजनीतिक र वातावरणीय अवस्थाको गहिरो अध्ययन गरेर मात्र आगामी बाटो तय गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट शुभारम्भ गर्दै अध्यक्ष ओलीले हचुवाका भरमा बनाइने नीतिले कुनै नतिजा नदिने बताए । पार्टीका सबै विषयगत विभागहरूलाई अध्ययनका आधारमा मात्र आ-आफ्नो क्षेत्रको नीति तय गर्न उनले निर्देशन दिएका छन् ।
वर्तमान समस्या सुल्झाउनुका साथै भविष्यको आवश्यकतालाई ध्यानमा राखेर कृषि, पूर्वाधार, अर्थतन्त्र र परराष्ट्र नीतिमा दीर्घकालीन खाका कोरिनुपर्ने उनको भनाइ छ । राज्यको प्रमुख ध्येय गरिबी घटाउनु र नागरिकको जीवनस्तर सुधार्नु रहेको उल्लेख गर्दै उनले कामको समय मात्र नगनी परिवार चलाउन पुग्ने आम्दानी दिने रोजगारी सिर्जना हुनुपर्ने धारणा राखे । जातीय आरक्षणभन्दा आर्थिक सशक्तीकरण र अवसरको सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन् ।
अध्यक्ष ओलीका अनुसार राजनीतिक अधिकारमा मात्र सीमित नभई आर्थिक र सामाजिक अधिकार सुनिश्चित हुने लोकतन्त्र नै वास्तविक समाजवादको आधार हो । प्रतिष्ठानले विज्ञ तथा बुद्धिजीवीहरूसँग निरन्तर परामर्श गरी तथ्यपरक नीति बनाउन अग्रणी भूमिका खेल्नुपर्ने उनले बताए ।

