काठमाडौँ । ओरेगनको विद्यालयमा गोली चल्दा ५ जनाको मृत्यु, आक्रमणकारी पनि मृत भेटिए ।
अमेरिकी राज्य ओरेगनको बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन बालबालिकासहित पाँच जनाको ज्यान गएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार विद्यालयभित्र प्रवेश गरेर गराइएको उक्त घटनामा ५, ८ र ११ वर्षका तीन बालबालिका तथा एक जना शिक्षकको मृत्यु भएको छ । आक्रमणकारीले विद्यालयको बन्द ढोकामा गोली हानेर जबर्जस्ती भवनभित्र छिरेर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनापछि विद्यालय परिसर पुगेका प्रहरी अधिकारीहरूले भवनभित्रै आक्रमणकारी मानिएका व्यक्तिलाई पनि मृत अवस्थामा फेला पारेका छन् ।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार गोली चलाउने व्यक्ति १६ वर्षीय किशोर रहेको आशङ्का गरिएको छ । यद्यपि प्रहरीले आक्रमणकारीको पहिचान तथा उनी सोही विद्यालयका विद्यार्थी हुन् या होइनन् भन्नेबारे आधिकारिक पुष्टि गरिसकेको छैन ।
मृतकहरूको पहिचान खुलाउनुका साथै घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

