काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो तोकिएको शैक्षिक क्यालेन्डर अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने भएको छ ।
त्रिविको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालय प्रशासनलाई शैक्षिक तालिका कडाइका साथ पालना गराउन स्पष्ट निर्देशन दिएका हुन् ।
मन्त्री पोखरेलका अनुसार प्रवेश परीक्षा, विद्यार्थी भर्ना, पठनपाठन, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन तोकिएकै समयभित्र सम्पन्न हुनुपर्छ । यदि कुनै कारणवश शैक्षिक क्यालेन्डर प्रभावित हुन गएमा त्यसको स्पष्ट कारण र सुधारका लागि लिइने समयसीमा सार्वजनिक रूपमा पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए ।
यस्तै, अबको परीक्षा प्रणालीले केवल उत्तरपुस्तिकाको लेखनभन्दा पनि विद्यार्थीको वास्तविक सिकाइ क्षमताको मापन गर्नुपर्ने उनको भनाइ छ । विश्वविद्यालयले अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक शिक्षामा ध्यान दिँदै सिर्जनशील एवम् समस्या समाधानमा सक्षम जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए ।
साथै, कृत्रिम बुद्धिमत्ता (AI) जस्ता आधुनिक प्रविधिको जिम्मेवार प्रयोगमार्फत विद्यार्थी केन्द्रित सुधारका काम अघि बढाउन उनले त्रिवि नेतृत्वलाई आग्रह गरे ।

