काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्वले आजदेखि विधिवत् रूपमा पार्टीको डाडुपन्यु सम्हाल्दै छ ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइने कार्यक्रम छ । सभापति गगन थापाले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार शपथ ग्रहण कार्यक्रम सम्पन्न भएलगत्तै निर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र हस्तान्तरण गरी पदबहाली गराइनेछ । भर्खरै सम्पन्न १५औँ महाधिवेशनबाट सभापति पदमा गगन थापा ९४ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका थिए । त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर जबरा एवम् डिला संग्रौला चयन भएका छन् ।
पदभार ग्रहणलगत्तै आजै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी गरिएको छ । उक्त बैठकमा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुका साथै बाँकी रहेका प्रदेश र जिल्ला अधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ ।

