काठमाडौँ । दसैँको अवसर पारेर बहुप्रतीक्षित नयाँ नेपाली चलचित्र ‘छ माया छपक्कै २’ शनिबारदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । सामान्यतया नेपालमा नयाँ चलचित्रहरू शुक्रबार रिलिज हुने चलन भए पनि चाडपर्व परेकाले यस पटक शनिबार परेको फूलपातीका दिन पारेर चलचित्र हलमा ल्याइएको हो ।
देशभरका मल्टिप्लेक्स तथा सिंगल स्क्रिनहरूमा यस चलचित्रले उल्लेख्य शोहरू पाएको छ । यद्यपि अघिल्लो दिन अर्थात् शुक्रबारदेखि नै प्रदर्शनमा आएका ‘आबाट आमा २’ र ‘१२ गाउँ २’ चलिरहेकाले शोहरू केही बाँडिएका छन् ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको यो चलचित्र ‘आमा सरस्वती मुभिज’, ‘रोहित अधिकारी फिल्म्स’ र ‘आईएमई’को संयुक्त व्यानरमा तयार भएको हो । चलचित्रको कथा निर्देशक लामा र दीपकराज गिरीले मिलेर लेखेका हुन् भने पटकथा तथा संवाद दीपकराज गिरी स्वयंको रहेको छ ।
हास्यप्रधान र सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई प्रमुख भूमिकामा देखिनेछन् । उनीहरूका साथै कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे र निर्मल शर्माको पनि अभिनय छ । चलचित्रका निर्माता रोहित अधिकारी हुन् भने दीपाश्री निरौला सल्लाहकार र निर्मल शर्मा तथा सुरज बम ठकुरी कार्यकारी निर्माताका रूपमा रहेका छन् । निर्माण टोलीले चलचित्रलाई दर्शकले रुचाउने ठूलो आशा राखेको छ ।

