काठमाडौँ । बडादशैँको पाँचौँ दिन असोज शुक्ल पञ्चमीका अवसरमा आज देशभर नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको श्रद्धापूर्वक पूजा आराधना गरिँदै छ ।
ज्ञानशक्ति र कर्मशक्तिका प्रतीक मानिने भगवान् कार्तिकेय (स्कन्द) की आमा भएकाले यी देवीलाई स्कन्दमाताका रूपमा पुज्ने परम्परा छ । व्यवहारिक ज्ञानलाई सत्कर्ममा रूपान्तरण गर्न प्रेरणा दिने दैवीशक्तिका रूपमा यिनको विशेष महत्त्व रहेको मानिन्छ ।
पहेंलो वर्णकी स्कन्दमाता पद्मासनमा विराजमान भई हातमा कमलको फूल लिएकी रूपमा चित्रित छन् । शिव तत्व, इच्छा, ज्ञान र क्रियाशक्तिको संगम मानिने यी देवीको उपासना गर्नाले सन्तान प्राप्ति हुनुका साथै धर्ती उर्वर र सम्पन्न हुने धार्मिक विश्वास छ ।
पूजाका लागि शुद्ध ठाउँमा जलपूर्ण कलश स्थापना गरी गणेश, वरुण, नवग्रह तथा षोडश मातृकाको आह्वान गरिन्छ । त्यसपछि वैदिक तथा सप्तशती मन्त्र उच्चारण गर्दै आवाहन, स्नान, वस्त्र, चन्दन, धूप-दीप, नैवेद्य र पुष्पाञ्जलिसहित षोडशोपचार विधिबाट पूजा सम्पन्न गरिन्छ ।
नवरात्रका नौ दिनसम्म शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका नवदुर्गाको आराधना गरिने हुँदा यस पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

