काठमाडौँ । बडादसैँको मुख्य दिन आज देशभर मान्यजनका हातबाट टीका तथा आशिर्वाद ग्रहण गरी विजयादशमी मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमीका लागि बिहान ८:४८ बजे देवी विसर्जनको उत्तम साइत तोकेको छ ।
देवी विसर्जनपश्चात् टीका लगाउँदा वा लगाइदिँदा उत्तम दिशा पश्चिम हुनुपर्ने र त्यसका लागि बिहान १०:२६ बजेको समय निर्धारण गरिएको छ । सोही दिन श्री तुलजाभवानीको यात्रा बिहान १०:४१ बजे र स्थिरासन दिउँसो ११:५२ बजे गराउने गरी तालिका सार्वजनिक गरिएको छ ।
साथै खड्गयात्रासमेत आजै सम्पन्न हुनेछ । कार्तिक ८ गते आइतबार अखिलबलीपूर्ति र कोजाग्रत पूर्णिमाको पूजा गरेपछि यस वर्षको दसैँका मुख्य धार्मिक विधिहरू औपचारिक रूपमा समापन हुनेछन् ।
सामान्य मानिसका लागि टीका लगाउन विशेष साइत पर्खनु नपरे पनि धार्मिक विधि परम्परालाई व्यवस्थित बनाउन समय तोकिएको समितिले स्पष्ट पारेको छ ।

