काठमाडौँ । मुलुकमा आइपर्ने प्राकृतिक विपद्का समयमा हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार प्रक्रिया र कानूनी जटिलता फुकाउन सरकारले नयाँ अध्यादेश ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शुक्रबार यो अध्यादेश जारी गरिएको हो ।
साविकको कानूनी व्यवस्था अनुसार कुनै व्यक्ति बेपत्ता भएमा १२ वर्षपछि मात्र मृतक घोषणा गर्न सकिने प्रावधान रहेको थियो । तर हालै भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा अन्य विपद्का कारण बेपत्ता भएका नागरिकका परिवारले भोग्नुपरेको समस्यालाई ध्यानमा राख्दै सरकारले उक्त अवधि छोट्याएको छ ।
नयाँ अध्यादेशमार्फत अब विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई करिब ४५ दिनपछि नै मृतक घोषणा गर्न सकिने गरी ऐन संशोधन गरिएको छ ।

