वीरगञ्ज । मधेश प्रदेशलाई मुख्य आधार क्षेत्र बनाएर सक्रिय जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन पर्साको वीरगञ्जमा सुरु भएको छ ।
ब्रह्मचोकस्थित ओम पार्टी प्यालेसमा बिहान ९ बजे विशेष समारोहका बीच महाधिवेशनको औपचारिक समुद्घाटन गर्ने तय भएको हो । यसअघि असोज १० गतेका लागि तोकिएको यो कार्यक्रम पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार असोज १७ गतेलाई सारिएको थियो ।
पार्टीको सर्वोच्च पद अध्यक्षका लागि भने डा. सीके राउतको मात्र एकल उम्मेदवारी परेकाले उनी सर्वसम्मत निर्वाचित हुने निश्चित भएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पहिलो चरणको नामावली अनुसार विभिन्न १०३ पदका लागि उम्मेदवारी दर्ता भएको छ । जसअनुसार सात उपाध्यक्ष पदका लागि १४ जना, एक महासचिवका लागि ३ जना र राष्ट्रिय उपमहासचिव पदमा २ जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै, सात राष्ट्रिय सचिवका लागि १० जना र केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि ७३ जना मैदानमा उत्रिएका छन् । महाधिवेशनमा भाग लिन आइपुगेका प्रतिनिधिहरूका लागि नागरिकता, मतदाता परिचयपत्र वा तस्बिरसहितको अन्य कुनै सरकारी पहिचान पत्र अनिवार्य गरिएको छ ।

