काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री खुलेको केही मिनेटमै सकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले एकैपटक दुई लाखभन्दा बढी समर्थकले टिकट काट्न खोज्दा यस्तो अवस्था आएको स्पष्ट पारेको छ ।
क्यानले एक विज्ञप्ति जारी गर्दै मैदानको सीमित दर्शक क्षमताका कारण अत्यधिक माग धान्न नसकिएको जनाएको हो । तर, शुक्रबार दिउँसो १ बजेबाट बिक्री सुरु हुने भनिए पनि निर्धारित समयअगावै इसेवामा टिकट ‘सोल्ड आउट’ देखिएपछि क्रिकेट समर्थकहरूले सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि र निराशा पोखेका छन् ।
नेपाली क्रिकेटप्रति दर्शकले देखाएको अपार माया र उत्साहप्रति आभार प्रकट गर्दै क्यानले टिकट नपाएका समर्थकहरूसँग क्षमायाचना गरेको छ ।
साथै, प्रत्यक्ष मैदानमा उपस्थित हुन नपाउने दर्शकलाई आधिकारिक अनलाइन माध्यम र सिद्धार्थ बैंकमार्फत प्रतियोगितालाई सहयोग गर्न क्यानले आग्रह गरेको छ । उपाधिका लागि शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स मैदानमा भिड्दैछन् ।

