काठमाडौँ । कर्णाली प्रदेशको मुख्य आतिथ्यमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद–२०८३ अन्तर्गतका ३२ खेलहरू दुई प्रदेशका सात विभिन्न स्थानमा खेलाइने तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको तालिकाअनुसार कर्णालीका पाँच र लुम्बिनी प्रदेशका दुई जिल्लामा प्रतियोगिताका प्रतिस्पर्धाहरू सञ्चालन हुनेछन् ।
कुल ३२ खेलमध्ये सबैभन्दा बढी २३ वटा खेल प्रदेश राजधानी सुर्खेतमा केन्द्रित रहनेछन् । बाँकी ९ खेलहरू कर्णालीका सल्यान, दैलेख, कालीकोट, पश्चिम रुकुम तथा छिमेकी लुम्बिनी प्रदेशका बाँके (नेपालगञ्ज) र बर्दियामा विभाजन गरिएको छ । राखेपले प्राविधिक आवश्यकता आइपरेमा खेलस्थलमा हेरफेर हुन सक्ने समेत जनाएको छ ।
जिल्लाअनुसार खेलको बाँडफाँड:
-
सुर्खेत (२३ खेल): मुख्य आयोजक स्थल सुर्खेतको प्रदेश रंगशाला, कभर्डहल, सैनिक खेल मैदान, काँक्रेबिहार र छिन्चुमा एथलेटिक्स, फुटबल, क्रिकेट, भलिबल, हक्की, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्याण्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्वी, साइक्लिङ, इ–स्पोर्टस् र सेपाकताक्रोका प्रतिस्पर्धा हुनेछन् ।
-
नेपालगञ्ज, बाँके (२ खेल): आवश्यक भौतिक पूर्वाधारको उपलब्धतालाई मध्यनजर गर्दै पौडी र सुटिङका खेलहरू नेपालगञ्जमा सारिएको छ ।
-
बर्दिया (२ खेल): बर्दियामा लन टेनिस र मुरीघाटमा खो–खोका खेलहरू सञ्चालन गरिनेछ ।
-
सल्यान (२ खेल): सल्यानस्थित श्रीनगर कभर्डहलमा कुस्ती र जुडोका खेलहरू हुनेछन् ।
-
दैलेख (१ खेल): नारायण कभर्डहलमा आई.टि.एफ. तेक्वान्दोको प्रतिस्पर्धा आयोजना हुनेछ ।
-
कालीकोट (१ खेल): कालीकोट कभर्डहलमा बुद्धिचाल (चेस) खेल सञ्चालन हुनेछ ।
-
पश्चिम रुकुम (१ खेल): चौरजहारीमा शारीरिक सुगठन (बडीबिल्डिङ) को प्रतिस्पर्धा तय गरिएको छ ।
आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको भव्य उद्घाटन र मंसिर २७ गते समापन हुनेछ । तर, औपचारिक उद्घाटनको आठ दिनअगावै अर्थात् मंसिर ८ गतेदेखि नै फुटबल, भलिबल, क्रिकेट, हक्की, सुटिङ, पौडी र टेनिससहित १० खेलका प्रतिस्पर्धाहरू सुरु भइसक्ने राखेपले जनाएको छ ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टोलीको सहभागिता रहनेछ । ३८४ इभेन्ट्समा खेलाडीहरूले १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । यस संस्करणको विशेष आकर्षणका रूपमा पहिलोपटक रजत र कास्य पदक विजेता खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ ।

