काठमाडौँ । भोलि (बुधबार) देखि काठमाडौँमा सुरु हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा नेकपा एमालेले आज आफ्नो स्थायी कमिटीको दोस्रो बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकले भोलि मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाका मुख्य कार्यसूची तथा प्रस्तावहरूलाई अनुमोदन गर्ने कार्यतालिका रहेको छ ।
यसका साथै बैठकमा आगामी मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पार्टीको आधिकारिक धारणा बनाउने विषयमा छलफल हुनेछ ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले दिएको जानकारी अनुसार राष्ट्रिय भेलामा देशभरबाट ३ हजारभन्दा बढी कार्यकर्ता तथा जनप्रतिनिधिहरू सहभागी हुँदैछन् ।
एमालेले यो भेलालाई आगामी स्थानीय तहको निर्वाचनको तयारी र सांगठनिक एकता सुदृढ बनाउने अभियानका रूपमा अघि सारेको जनाएको छ ।

