काठमाडौँ । सार्वजनिक जग्गा छुट दर्ता प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मङ्गलबार आयोगले नेपालसहित ९७ जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र पेस गरेको हो ।
दायर गरिएको अभियोगपत्रमा पूर्वप्रधानमन्त्री नेपालसँग ७३ करोड ४९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । वि.सं. २०६६ मंसिर १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा ‘रिजाल क्यानिङ एन्ड कम्पनी प्रालि’ ले छुट पाएको जग्गामा राज्यलाई ठूलो हानि-नोक्सानी पुर्याइएको दाबी अख्तियारको छ ।
यसअघि पनि अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध काभ्रेको साँगास्थित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको हदबन्दीभन्दा बढी (३१४ रोपनी १५ आना दुई पैसा एक दाम) जग्गा सट्टापट्टा एवं बिक्रीमा हिनामिना गरेको आरोपमा २०८२ जेठ २२ गते भ्रष्टाचार मुद्दा दर्ता गरिसकेको छ ।

