काठमाडौं । सरकारले बालबालिकाको स्वास्थ्य जोखिम कम गर्न र पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले आज र भोलि देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार यस राष्ट्रिय अभियानमार्फत ६ महिनादेखि ५ वर्षमुनिका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षसम्मका करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य लिइएको छ । बालबालिकामा देखिने कुपोषण तथा विभिन्न स्वास्थ्य समस्याहरूको जोखिम न्यून गर्न सरकारले हरेक वर्ष कात्तिक र वैशाख महिनामा नियमित रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
अभियानलाई सफल र प्रभावकारी बनाउन देशभर ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मीहरू परिचालन गरिएको सम्बन्धित निकायले जनाएको छ ।
यस अभियानअन्तर्गत सरकारले लक्षित उमेर समूहका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्र वा तोकिएको वितरण केन्द्रमा अनिवार्य रूपमा लगि औषधि खुवाउन सम्पूर्ण अभिभावकहरूलाई आग्रह गरेको छ ।

