काठमाडौँ । मुलुकको सडक सञ्जाल विस्तार तथा स्तरोन्नति गर्न एसियाली विकास बैंक (एडीबी) ले उपलब्ध गराउने ३० करोड ५० लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता लिन सरकार तयार भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार २८ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण र २ करोड डलर अनुदान स्वीकृत गरिएको हो ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न स्वीकृति दिइएको जानकारी दिए । यसैगरी नानो फर्टिलाइजर, बायोस्टिमुलेन्टसहित व्यावसायिक रूपमा उत्पादन हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्दै ‘मल नियन्त्रण आदेश, २०८३’ पारित गरिएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई अनुमति दिइएको छ । तुर्किएको आन्ताल्यामा आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म उक्त सम्मेलन हुँदै छ ।
त्यस्तै, मोही लागेको जग्गा बाँडफाँटका लागि निवेदन दिने समय सीमा २०८५ कात्तिकसम्म र बाँडफाँट प्रक्रिया टुङ्ग्याउने अवधि २०८६ असार मसान्तसम्म थप्ने गरी राजपत्रमा सूचना प्रकाशित गरिने भएको छ । प्रेस काउन्सिल ऐन, २०४८ संशोधन अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐन संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

