हेटौँडा । हरिबोधनी एकादशीका दिन त्रिखण्डेश्वर महादेव मन्दिरमा लाग्ने विशेष मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले काठमाडौँतर्फ जाने यात्रुवाहक सवारीसाधनलाई वैकल्पिक मार्गका रूपमा कान्तिलोकपथ प्रयोग गर्न अनुरोध गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१, त्रिखण्डीस्थित प्रसिद्ध त्रिखण्डेश्वर महादेव मन्दिर परिसरमा आगामी मंसिर ४ गते शुक्रबार हरिबोधनी एकादशीको मेला लाग्दैछ । मेलामा भक्तजनहरूको अत्यधिक चाप हुने भएकाले हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने साँघुरो तथा भिरालो सडक खण्डमा सवारी जाम र आवागमनमा समस्या हुन सक्ने प्रशासनको आकलन छ ।
यात्रुहरूको यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउन शुक्रबारका दिन उक्त रुटको सट्टा कान्तिलोकपथ प्रयोग गर्न प्रशासनले सरोकारवाला सबैलाई आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले एक सूचना जारी गर्दै यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग अपनाएर ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याइदिन अपिल गर्नुभएको छ ।

