Khaptad Organic Nepal

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गर्ने सरकारको निर्णयसँगै देशको प्रमुख सुरक्षा संयन्त्र नेपाल प्रहरी स्पष्ट रूपमा दुई धारमा विभाजित भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले गृहमन्त्री सुधन गुरुङलाई समेत जानकारी नदिई नेतृत्व हेरफेरमा प्रत्यक्ष हस्तक्षेप गरेपछि प्रहरी संगठनको माथिल्लो तहदेखि तल्लो दर्जासम्मै ध्रुवीकरण देखिएको हो ।

करिब एक वर्ष संगठनको नेतृत्व गरेका निवर्तमान आईजीपी कार्कीसँग काम गर्न सहज मानेका अधिकृतहरूले नवनियुक्त आईजीपी केसीको नेतृत्वलाई सहजै स्वीकार्न सकेका छैनन् । यद्यपि, कार्कीको कार्यशैलीप्रति असन्तुष्ट रहेको समूह भने केसीको आगमनबाट उत्साहित देखिएको छ । संगठनभित्रको यो आन्तरिक विभाजन सामाजिक सञ्जालका गतिविधिमा समेत प्रतिविम्बित भएको छ । विगतमा जिल्ला नेतृत्वमा रहेका अधिकांश प्रहरी अधिकृतहरूले कार्कीका शुभकामना सन्देशहरू व्यापक रूपमा सेयर गर्ने गरेकोमा केसीको नियुक्ति र तिहारको शुभकामना सन्देश निकै कम अधिकृतहरूले मात्र साझा गरेका छन् । तथ्याङ्क अनुसार दसैँमा कार्कीको सन्देश ३ हजारभन्दा बढी पटक सेयर भएको थियो भने केसीको सन्देश करिब ८ सय पटक मात्र सेयर भएको देखिन्छ । प्रधानमन्त्री शाहको बलियो साथ पाएका केसी संगठनमा ‘कमाण्ड कन्ट्रोल’ स्थापित गर्ने प्रयासमा रहे पनि आन्तरिक द्वन्द्व मत्थर हुन सकेको छैन ।

नेपाल प्रहरीका एक बहालवाला डीआईजीका अनुसार नेतृत्व परिवर्तनको विषय सर्वोच्च अदालत पुगेकाले फैसला नआउँदासम्म संगठनभित्र काम गर्ने वातावरण सहज छैन । विगतका नजिर हेर्दा निवर्तमान आईजीपी कार्की अदालतबाट फर्कन सक्ने अनुमान गर्दै कतिपय अधिकृतहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् । अर्कोतर्फ, अर्का एक डीआईजीले भने कार्कीले कार्यकालमा धेरैसँग तिक्तता बढाएकाले अहिलेको अवस्था आएको तर्क गर्दै नवनियुक्त आईजीपी केसी व्यावसायिक (प्रोफेशनल) रहेकाले शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा कुनै बाधा नरहेको बताएका छन् ।

पूर्वप्रहरी अधिकारीहरूले सरकारको अस्वाभाविक हस्तक्षेपले संगठनमा दीर्घकालीन असर पार्ने चेतावनी दिएका छन् । पूर्वडीआईजी हेमन्त मल्लले २०५३ सालमा तत्कालीन आईजीपी अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई नियुक्त गर्दा संगठनमा चरम गुटबन्दी र ‘लखेटा-लखेट’ को अवस्था सिर्जना भएको स्मरण गरे । अहिले २०५३ को जस्तो चरम रूप नलिए पनि सर्वोच्चको फैसला नआउँदासम्म असहयोग र गुटबन्दीको मानसिकता कायमै रहने उनको विश्लेषण छ । त्यस्तै, पूर्वएआईजी बुद्धि गुरुङले कानुनको साटो शासकको इच्छाअनुसार प्रहरी परिचालन हुन थाले मानवअधिकार उल्लंघन र शक्तिको दुरुपयोग बढ्ने जोखिम औँल्याए । संगठनभित्रको अस्वस्थ प्रतिस्पर्धा र राजनीतिक हस्तक्षेपले नीतिगत निर्णय तथा कमाण्ड कन्ट्रोलमा विचलन ल्याउने उनको भनाइ छ ।

प्रहरी नेतृत्व परिवर्तनको असर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समेत देखिएको छ । सरकारका कतिपय निर्देशन कार्यान्वयन गर्नुअघि कार्कीले रास्वपा सभापति रवि लामिछानेसँग परामर्श गर्ने गरेको विषय प्रधानमन्त्री शाहको टिमलाई मन परेको थिएन । कार्कीलाई हटाउने निर्णयको सभापति लामिछानेले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै सरकारको कदमको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने बताएका छन् । सरकारी प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशनमा नेतृत्व फेरिएको दाबी गरे पनि रास्वपा प्रवक्ता जगदीश खरेलले त्यसको खण्डन गर्दै पार्टीलाई यसबारे कुनै जानकारी नरहेको स्पष्ट पारेका छन् । यसले रास्वपाभित्र सरकार र पार्टीबीच स्पष्ट दुई धार सिर्जना गरेको छ । उता, प्रमुख प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले पनि संवेदनशील सुरक्षा निकायको नेतृत्व हेरफेरबारे सरकारको आधिकारिक धारणा माग गरेका छन् ।

मन्त्रिपरिषद्ले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘विशेष सुरक्षा सल्लाहकार’ को नयाँ पद सिर्जना गरी सरुवा गर्ने निर्णय गरेको थियो । तर, प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ मा बहालवाला आईजीपीलाई संगठनबाहिर सरुवा गर्ने कुनै कानुनी व्यवस्था नरहेको भन्दै कार्कीले उक्त पद अस्वीकार गरेका छन् । २०५३ मा अच्युतकृष्ण खरेल र २०८२ मा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पुनर्बहाली भएको नजिर टेकेर कार्की सर्वोच्च अदालत पुगेका छन् । उनको रिट दर्ता भए पनि सुनुवाइ हुन बाँकी रहेकाले प्रहरी संगठनभित्रको अन्योल तत्काल हट्ने देखिएको छैन ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।