काठमाडौँ । फाइनल प्रवेशको प्रत्यक्ष टिकट काट्ने लक्ष्यसहित आज मङ्गलबार नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच कडा प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने यस खेलमा दुवै टोली जित निकाल्दै उपाधि नजिक पुग्ने दाउमा छन् ।
जारी सिजनमा यी दुई बलिया टोलीबिचको यो दोस्रो भेट हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिममाथि ७ विकेटको सहज जित दर्ता गरेको थियो । आजको खेलमा सुदूरपश्चिम अघिल्लो हारको बदला लिँदै लगातार तेस्रोपटक एनपीएलको फाइनलमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रनेछ । अर्कोतर्फ, उच्च लयमा रहेको लुम्बिनी आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै लगातार दोस्रोपटक फाइनल पुग्ने योजनामा छ ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको हो । उसले खेलेका ७ खेलमध्ये ५ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै कुल ११ अंक जोडेको थियो । त्यस्तै, ५ जित र २ हारसहित १० अंक बटुलेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा रहँदै शीर्ष दुईको भिडन्त पक्का गर्न सफल भएको हो ।
आजको खेलमा विजयी हुने टोलीले सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ । यद्यपि, पराजित हुने टोलीका लागि पनि उपाधि यात्रा समाप्त हुने छैन ।
पहिलो क्वालिफायरमा हार्ने टोलीले बुधबार तेस्रो स्थानको काठमाडौँ गोर्खाज र चौथो स्थानको चितवन राइनोजबिच हुने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।

