काठमाडौँ । संघीय संसदका दुवै सदनअन्तर्गतका दुई संसदीय समितिको बैठक मङ्गलबार बस्ने भएको छ । कानुन, न्याय तथा मानव अधिकार समिति र विधायन व्यवस्थापन समितिले आ-आफ्ना कार्यसूची तय गर्दै बैठक आह्वान गरेका हुन् ।
दिनको १ बजे बस्ने प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि परेका स्वीकृत संशोधनका सूचनाबारे सम्बन्धित सांसदहरूसँग छलफल गरिने जनाइएको छ । उक्त बैठकमा छलफलका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका साथै मन्त्रालयका सचिवलाई समेत निमन्त्रणा गरिएको छ ।
त्यसैगरी राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा पनि आजै विभिन्न उपसमितिका प्रतिवेदनहरूमाथि छलफल हुने कार्यसूची रहेको छ । समितिले ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमितिले तयार पारेका प्रतिवेदनमाथि विस्तृत विचार-विमर्श गर्न लागेको हो ।

