चितवन । मुग्लिन–नागढुंगा सडकखण्डको घोप्टेभिरमा निरन्तर खसिरहेको सुख्खा पहिरो पन्छाउन मंसिर ५ गतेदेखि दैनिक पाँच घण्टा सवारी आवागमन रोकिने भएको छ ।
जोखिमयुक्त ढुंगा र माटो हटाएर सम्भावित दुर्घटना टार्न जिल्ला प्रशासन कार्यालय चितवनले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।
घोप्टेभिर क्षेत्रमा बारम्बार सुख्खा पहिरो खस्दा यातायात सञ्चालनमा अवरोध आउनुका साथै मानवीय क्षतिसमेत बेहोर्नुपरेपछि प्रशासनले यो कदम चालेको हो । अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको समयमा उक्त खण्ड भएर चल्ने सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा बन्द रहने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
यात्रामा निस्कनुअघि समय तालिका ख्याल गर्न र प्रशासनको निर्णय पालना गरी सहयोग गरिदिन सरोकारवाला तथा यात्रुहरूलाई अनुरोध गरिएको छ ।

