काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको टोलीबीच आगामी स्थानीय तह निर्वाचनको रणनीतिक फाइदाबारे भएको अनौपचारिक संवादको भिडिओ सार्वजनिक भएको छ ।
भ्रमण दलमा सहभागी रास्वपा सांसद श्रीराम न्यौपानेले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा रोबोट हिँडिरहेको दृश्य समेटेर सार्वजनिक गरेका तीनवटा भिडिओमध्ये एउटाको पृष्ठभूमिमा सांसदहरूबीचको उक्त राजनीतिक संवाद रेकर्ड भएको हो ।
सार्वजनिक भिडिओमा सुनिएको संवादअनुसार रास्वपा सांसदहरूले आगामी स्थानीय चुनावमा आफ्नो दललाई कसरी लाभ पुग्छ भन्ने विषयमा तर्कवितर्क गरेका छन् । कुराकानीका क्रममा एक सांसदले नेपाली कांग्रेसको नेतृत्व वा आधिकारिकता शेरबहादुर देउवाको हातमा जानुपर्ने धारणा राखेका छन् । उक्त भनाइमा सहमति जनाउँदै अर्का सांसदले सर्वोच्च अदालतले समेत स्थानीय चुनावसम्म कांग्रेसको आधिकारिकता देउवालाई नै दिने गरी फैसला गर्नुपर्ने उल्लेख गरेका छन् ।
सोही संवादमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतको अभिव्यक्तिलाई लिएर पनि सांसदहरूले विश्लेषण गरेका छन् । एक सांसदले स्थानीय चुनावसम्म ओली र बस्नेत अझै चर्को स्वरमा बोल्नुपर्ने बताएका छन् भने अर्का सांसदले स्वभावगत रूपमै उनीहरू चर्को बोल्ने भएकाले त्यसको प्रत्यक्ष राजनीतिक फाइदा रास्वपाले उठाउने दाबी गरेका छन् ।
यद्यपि, संवादमा सहभागी अर्का एक सांसदले अन्य दलका नेताको बोलीले मात्र चुनाव नजित्ने भन्दै रास्वपा नेतृत्वको सरकारले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिएका छन् । काम नगरे जनताले रास्वपालाई पनि कांग्रेस र एमालेकै अवस्थामा पुर्याइदिने चेतावनी ती सांसदले संवादका क्रममा दिएका छन् ।

