बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै बुधबार बिहान यात्रु बोकेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् ।
बिहान करिब ८:४५ बजे काँडाचौरबाट १५ जना स्थानीय बासिन्दालाई लिएर बाग्थलातर्फ आउँदै गरेको से ००१ च ४३७६ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । दुर्घटनामा परी केदारस्युँ गाउँपालिका–७ काँडाचौर निवासी गोपाल धामी र पवित्रा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
जीपमा सवार अन्य यात्रुहरूमध्ये ६ जना गम्भीर रूपमा घाइते भएका छन् भने अन्य सात जना सामान्य अवस्थामा रहेका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ स्थानीय र सुरक्षाकर्मीको टोली उद्धार कार्यमा खटिएको थियो ।
प्रारम्भिक विवरण अनुसार उक्त जीप बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामीले चलाएका थिए भने सो गाडी केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको रहेको बुझिएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी छ ।

