काठमाडौँ । सहरी क्षेत्रले भोग्दै आएको वातावरणीय चुनौती र जलवायु संकटको व्यावहारिक समाधान खोज्न काठमाडौँ महानगरपालिकाले मंसिर ७ देखि १३ गतेसम्म ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ ।
नेपालकै पहिलो सहरस्तरीय जलवायु प्रयासका रूपमा दाबी गरिएको यस साताव्यापी अभियानमा जनप्रतिनिधि, युवा, विद्यार्थी, वैज्ञानिक, उद्यमी, निजी क्षेत्र र नागरिक समाजका प्रतिनिधिहरू सहभागी हुनेछन् । अब जलवायु जोखिमका विषयमा बहस मात्र नगरी प्रत्यक्ष कार्यान्वयनमा उत्रिनुपर्ने आवश्यकता रहेको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन् ।
सप्ताहव्यापी कार्यक्रममा विशेषगरी सहरी डुबान, बढ्दो गर्मी, वायु प्रदूषण, पानीको अभाव र फोहोरमैला व्यवस्थापनजस्ता मुख्य समस्याहरूलाई प्राथमिकताका साथ उठाइनेछ । सात दिनको अवधिमा जलवायु नीति तथा वित्त, सम्पदा संरक्षण, स्वच्छ ऊर्जा, खाद्य प्रणाली र नागरिक सहभागितालगायतका विषयमा केन्द्रित रहेर अलग–अलग सत्रहरू सञ्चालन गरिने महानगरले जनाएको छ ।
अभियानअन्तर्गत ५० भन्दा बढी विद्यालयहरूमा वृक्षरोपण, फोहोर वर्गीकरण तथा जलवायु सचेतनासम्बन्धी विभिन्न सिर्जनात्मक क्रियाकलापहरू आयोजना हुनेछन् । साथै, विद्यार्थीहरूका लागि ‘जलवायुका लागि बालबालिका’ विषयक भिडियो प्रतियोगितासमेत राखिएको छ, जसमा उत्कृष्ट हुने विजेतालाई ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रमको समापनका दिन जलवायु असर न्यूनीकरणका लागि साझा प्रतिबद्धतासहितको आगामी कार्यदिशा र ‘काठमाडौँ घोषणा २०८३’ सार्वजनिक गर्ने महानगरपालिकाको तयारी छ ।

