काठमाडौँ । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टी अदालतबाट दोषी ठहर भएका छन् ।
जुरीले मंगलबार करिब पाँच घण्टा लामो छलफलपछि नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको हो ।
अदालतले सजाय निर्धारण नभएसम्मका लागि नरेशलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । उनको सजाय सन् २०२७ को मार्चमा निर्धारण गरिनेछ । मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले विषविज्ञान विशेषज्ञ, नरेशका पूर्वसहकर्मी तथा ममताका साथीहरूसहित करिब १०० जना साक्षी र ५०० वटा प्रमाण पेस गरेको थियो ।
सुनुवाइमा ममताकी साथी सुनिता बस्नेत थापाले ममता आत्महत्या गर्ने स्वभावकी नभएको र उनको अनुहारमा चोट देखेको बयान दिएकी थिइन् । नरेशले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए । सन् २०२४ मा ममता बेपत्ता भएपछि सुरु भएको अनुसन्धानका आधारमा प्रहरीले नरेशमाथि हत्या र शव लुकाएको अभियोग दर्ता गरेको थियो ।

