काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रका कार्यक्रमहरू अगाडि बढेका छन् ।
उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको यस सत्रमा पार्टीको आगामी कार्यदिशा र आन्तरिक प्रतिवेदनहरूमाथि घनीभूत छलफल भइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । बिहान साढे ८ बजे सुरु भएको आजको सत्रमा सुरुमा अनुशासन आयोगको प्रतिवेदन र त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ ।
त्यसैगरी महामन्त्री बुर्लाकोटीले पार्टीको साङ्गठनिक प्रतिवेदन पेस गरेपछि त्यसमाथि प्रतिनिधिहरूबीच खुला छलफल हुनेछ । मध्याह्न ११: ४५ बजे पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त प्रतिवेदन पारित भएसँगै पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरिनेछ र आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ । त्यसलगत्तै आयोगले पूर्वनिर्धारित कार्यतालिका अनुसार नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

