लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटमाथि औपचारिक बहसको प्रक्रिया अगाडि बढेको छ ।
प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने दशौँ बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्ने कार्यक्रम छ । उक्त प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् भने छलफलमा उठेका प्रश्न र जिज्ञासाहरूमाथि मन्त्री कार्कीले जवाफ दिनेछन् ।
यसका साथै मन्त्री कार्कीले ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ समेत सभामा पेस गर्ने कार्यसूची तय भएको छ ।

