चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गतको बन्द सत्र प्राविधिक तयारी पूरा गरी आज बिहानदेखि सञ्चालन गरिँदैछ ।
प्रतिनिधिहरूको परिचयपत्र वितरण गरिएसँगै बन्द सत्रको औपचारिक सुरुवात हुने जानकारी प्रवक्ता मनिष झाले दिनुभएको छ । यसअघि प्रदेशस्तरबाट आएका प्रतिनिधिहरूको नामावली रुजु गर्ने र कार्ड छपाइ गर्ने काममा केही समय लागेकाले सोमबार बन्द सत्र सुरु हुन सकेको थिएन । प्रवक्ता झाका अनुसार प्राविधिक कारणले गर्दा नै कार्यतालिकामा केही ढिलाइ भएको हो । पार्टीले सातवटै प्रदेशका साथै समायोजन र प्रवास कमिटीका प्रतिनिधिहरूलाई सहज रूपमा परिचयपत्र वितरण गर्न छुट्टाछुट्टै स्थानको व्यवस्था गरेको छ ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको प्रारम्भमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन पेस गर्नुहुनेछ र त्यसमाथि छलफल चलाइनेछ । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । यी प्रतिवेदनहरूमाथि छलफल सकिएपछि पार्टीको विधान परिमार्जन र अनुमोदनको प्रक्रिया अघि बढ्नेछ । विधान पारित भएपछि मात्र पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नुहुने र त्यसमाथि गहन छलफल गरी अनुमोदन गरिने जनाइएको छ ।
यसअघि गत आइतबार एक विशेष समारोहका बीच महाधिवेशनको भव्य उद्घाटन गरिएको थियो ।

