काठमाडौँ । विश्वकै प्रमुख समुद्री व्यापारिक मार्गमध्येको एक होर्मुज जलडमरूमध्यलाई इरानले अनिश्चितकालका लागि बन्द गरिदिएको छ ।
यस क्षेत्रमा अमेरिकी हस्तक्षेप जारी रहेसम्म यो मार्ग खुला नहुने अडान इरानको सरकारी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।
इरानको इस्लामिक रिभुलुस्नरी गार्ड कोर्प्स (आईआरजीसी) ले आफ्नो यो कदमविरुद्ध अमेरिकाले कुनै पनि सैन्य बल प्रयोग गरेमा कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । उसले खाडी क्षेत्रमा रहेका अमेरिकासँग सम्बन्धित सैन्य अखडाहरूलाई समेत निसाना बनाउने बताएको छ । सुरक्षा बलका अनुसार इरानले निर्धारण गरेको मार्ग उल्लंघन गर्ने र आफ्नो पहिचान प्रणाली (सिस्टम) बन्द गरेर अघि बढ्ने एउटा व्यापारिक जहाजमाथि चेतावनीस्वरूप गोलीसमेत चलाइएको छ ।
चालू साता तीनवटा व्यावसायिक तेल ट्याङ्करमाथि भएका आक्रमण र त्यसलगत्तै अमेरिका तथा इरानबीच बढेको सैन्य टकरावपछि यो नयाँ परिस्थिति सिर्जना भएको हो । ओमानको समुद्री क्षेत्रमा अमेरिकाले सुझाएको बाटो प्रयोग गरिरहेका ती ट्याङ्करहरूमाथि आक्रमण भएको इरानको दाबी छ । इरानले आफ्नो समुद्री मार्ग मात्रै सुरक्षित रहेको जिकिर गर्दै आएको छ । यस विषयमा वासिङ्टनले अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन ।
पछिल्लो समय अमेरिकी सैन्य कारबाहीमा १७ जनाको मृत्यु हुनुका साथै ११५ जना घाइते भएको इरानी अधिकारीहरूले जनाएका छन् । यसको जवाफमा आफूहरूले खाडी क्षेत्रका अमेरिकी सहयोगीहरूमाथि आक्रमण गरेको इरानको भनाइ छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी पक्षबाट भएको आक्रमणसँगै युद्धविरामको अन्त्य भएको घोषणा गरेका छन् । अर्कातर्फ, इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले नै सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् ।
तनावका बीच पनि कूटनीतिक च्यानलहरू सक्रिय रहेको र मध्यस्थकर्ताहरूले वार्ताको प्रयास जारी राखेको राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार इरानले तेल ट्याङ्करमाथिको आक्रमणलाई गल्ती भन्दै त्यसको जिम्मेवारी आफ्नो नियन्त्रणबाहिर रहेको एक समूहलाई दिएको छ । अमेरिकी अधिकारीहरूले भने मध्यस्थकर्तामार्फत इरानलाई होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला राख्न र व्यापारिक जहाजमाथिका आक्रमण रोक्न लिखित प्रतिबद्धता जनाउन माग गरिरहेका छन् ।

