काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरण र प्रेस काउन्सिल नेपालमा नयाँ नेतृत्व चयन गरेको छ ।
असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका हुन् ।
नवनियुक्त दुवै अध्यक्षले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट आफ्नो नियुक्तिपत्र बुझेका छन् । पदभार ग्रहण गर्ने क्रममा प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठले परिमार्जित सञ्चार माध्यमको स्वरूपअनुसार पुराना कानुनहरूलाई समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिए । उनले पत्रकार आचारसंहिताको पूर्ण पालना गराउँदै पत्रकारिता क्षेत्रमा स्वनियमन प्रणाली बलियो बनाउने आफ्नो मुख्य योजना रहेको स्पष्ट पारे । सरकार र आमसञ्चार क्षेत्रबीच आपसी विश्वास बढाउन मध्यस्थकर्ताको भूमिका खेल्ने उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रताको रक्षा र जिम्मेवार पत्रकारिताको विकासमा काउन्सिलले काम गर्ने प्रतिबद्धता जनाए ।
यस्तै, दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले दूरसञ्चार क्षेत्रमा देखिएका वर्तमान चुनौती र कमजोरीहरूलाई सुधार्दै समस्या समाधानका लागि केन्द्रित हुने बताए ।

