काठमाडौँ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वसाधारण र राष्ट्रसेवक कर्मचारीको हितलाई ध्यानमा राख्दै विभिन्न पाँच वटा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार कृषि क्षेत्रको सुधारका लागि ‘बिउ विजन (पहिलो संशोधन) नियमावली २०८१’ लाई बैठकले स्वीकृत गरेको छ ।
यसैगरी, बाढीपहिरो जस्ता विपद्का बेला अग्रपंक्तिमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको प्रोत्साहनका लागि विशेष भत्ता उपलब्ध गराउने निर्णय सरकारले गरेको छ ।
खेलकुद क्षेत्रतर्फ देशको नाम राख्ने खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिने भएको छ ।
हवाई क्षेत्रको व्यवस्थापनका लागि नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरिएको छ र उनलाई महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी जिम्मेवारी दिइएको छ ।
यसका साथै, मिटरब्याज पीडितहरूको समस्या चाँडो सुल्झाउन विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी सुम्पिने निर्णय भएको छ ।

