काठमाडौँ । माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर आन्दोलन गरिरहेका किसान समूहसँग कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कुराकानी गरेकी छन् ।
बुधबार काठमाडौँको सडकमा प्रदर्शन गरिरहेका किसानका प्रतिनिधिहरूलाई मन्त्री चौधरीले मन्त्रालयमै बोलाएर उनीहरूका समस्या र मागका विषयमा छलफल गरेकी हुन् । छलफलका क्रममा मन्त्री चौधरीले किसानहरूलाई आफ्ना उत्पादन बिक्री गर्न कालीमाटी बजारमै आइरहनु नपर्ने भन्दै नजिकका स्थानीय हाटबजारहरू प्रयोग गर्न आग्रह गरिन् । किसानले भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रूपमा लिएको र सम्बन्धित निकायहरूसँग समन्वय गरेर व्यवहारिक समाधान खोजिने आश्वासन उनले दिइन् ।
कृषि क्षेत्रको दीर्घकालीन सुधार, उचित मूल्य निर्धारण, उत्पादन तथा बजार व्यवस्थापनका लागि सरकार सधैँ किसानसँग संवाद र सहकार्य गर्न तयार रहेको मन्त्री चौधरीको भनाइ थियो ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति ल्याउन, मल तथा बीउ सहज रूपमा उपलब्ध गराउन र कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्न माग गर्दै किसानहरूले सडकमा टमाटर फालेर विरोध जनाएका थिए ।

