काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार गठन भएको १०० दिन पूरा भएसँगै राजनीतिक दलहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।
यसै सिलसिलामा प्रधानमन्त्री शाह र संसदको छैटौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ ।
करिब एक घण्टा चलेको उक्त भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र जनजीविकाका महत्त्वपूर्ण सवालहरूमा कुराकानी भएको हो । छलफलमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक खुस्बु ओली सहभागी थिए भने प्रधानमन्त्रीका साथमा उनका प्रमुख सल्लाहकार कुमार बेन र मुख्य स्वकीय सचिव सुवास शर्मा उपस्थित थिए ।
भेटघाटका क्रममा राप्रपा नेताहरूले संविधान संशोधन, किसानका लागि रासायनिक मलको उपलब्धता, सुकुम्बासी व्यवस्थापन, निजी अस्पतालहरूमा स्वास्थ्य बिमाको निरन्तरता र संसद्मा प्रधानमन्त्रीको नियमित उपस्थिति तथा जबाफदेहीता जस्ता पाँच मुख्य विषयहरूमा प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।
जबाफमा प्रधानमन्त्री शाहले संविधान संशोधनको विषयमा कार्यदलले प्रतिवेदन बुझाउन लागेको र अहिले नै प्रक्रिया सुरु भइ नहाल्ने प्रस्ट पारे । साथै रासायनिक मलको अभाव हुन नदिन सरकार लागिपरेको, सुकुम्बासीहरूको उचित व्यवस्थापन छिट्टै मिलाइने र स्वास्थ्य बिमाको व्यवस्थापकीय पक्ष सुधारका लागि गृहकार्य भइरहेको भन्दै नेताहरूलाई आश्वस्त पारेका थिए ।

