काठमाडौँ । भारतीय केन्द्रीय मन्त्रीहरूसँग भएको गहन वार्तापछि लद्दाखका चर्चित अभियन्ता सोनम वाङचुकले आफ्नो झन्डै एक महिना लामो भोक हडताल फिर्ता लिएका छन् । केन्द्रीय मन्त्रीद्वय जगतप्रकाश नड्डा र डा. जितेन्द्र सिंहसँगको वार्तापछि उनले २६ औँ दिनमा अनशन स्थगन गर्ने निर्णय गरेका हुन् ।
सम्भावित हिंसा र अनपेक्षित अवस्थालाई रोक्न लेह-लद्दाखका शीर्ष नेताहरूको उपस्थितिमा सरकारसँग सम्झौता गरी अनशन तोडिएको वाङचुकले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् । विरोध प्रदर्शनका क्रममा विभिन्न राजनीतिक दलका ६५ भन्दा बढी सांसदहरूले उनलाई प्रत्यक्ष भेटेर वा पत्र लेखेर अनशन फिर्ता लिन अनुरोध गरेका थिए । यसका साथै विपक्षी सांसदहरूको टोलीले पनि उनको खस्किँदो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनको स्वरूप फेर्न सुझाव दिएको थियो ।
यसैबीच, ककरोच जनता पार्टीका अध्यक्ष अभिजित दिपकेले वाङचुकको निर्णयलाई स्वागत गर्दै राहतको सास फेरेको बताएका छन् । तर, उनले जन्तरमन्तरमा आफ्नो दलले गरिरहेको प्रदर्शन भने शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआउञ्जेल जारी रहने दाबी गरे । पार्टी प्रवक्ता सौरभ दासका अनुसार सरकारसँग भएको समझदारीबमोजिम शुक्रबार ‘कन्स्टिच्युसन क्लब अफ इन्डिया’मा तटस्थ वार्ता आयोजना गरिनेछ ।

