काठमाडौँ । रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको कालो मसी प्रहार तथा दुर्व्यवहारको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा आपत्ति जनाएको छ ।
साउन ७ गते स्थानीय जनतासँगको छलफल सकेर फर्किने क्रममा सांसद पौडेलमाथि गैरराजनीतिक ढङ्गले आक्रमण गरिएको हो ।
उक्त आपराधिक कदमको घोर भर्त्सना गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्नुभएको छ । लोकतन्त्रमा नीतिगत वा वैचारिक असहमति पोख्ने थुप्रै बाटोहरू भए पनि जनप्रतिनिधिमाथि भौतिक दुर्व्यवहार र अपमान गर्नु सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ । रास्वपाले यस्ता अलोकतान्त्रिक गतिविधिले मुलुकको विधिको शासन, शान्तिपूर्ण राजनीतिक थिति र सभ्य संस्कारमाथि गम्भीर चोट पुर्याउने स्पष्ट पारेको छ ।
गृह प्रशासन तथा नेपाल सरकारसँग जोडदार माग गर्दै रास्वपाले घटनामा संलग्न दोषीहरूमाथि तत्काल निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गर्न आग्रह गरेको छ । साथै, नागरिकका प्रतिनिधिहरूको शान्तिपूर्ण रूपमा काम गर्न पाउने अधिकारको रक्षा गर्दै भविष्यमा यस्ता अवाञ्छित घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था चुस्त बनाउनसमेत माग गरिएको छ ।
रास्वपाले अहिंसात्मक राजनीति र लोकतान्त्रिक मूल्यमान्यताप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर रहने कुरा पुनः दोहोर्याएको छ ।

