काठमाडौँ । कोभिड महामारीका कारण करिब सात वर्षदेखि रोकिएको बझाङ र तिब्बतको ताक्लाकोटबीचको परम्परागत सीमा व्यापार पुनः सञ्चालनमा आएको छ ।
बझाङको साइपाल र तलकोट गाउँपालिकाका ४३ जना व्यापारी स्थानीय उत्पादन लिएर तिब्बतको ताक्लाकोट पुगेका हुन् । ५,२०० मिटर उचाइमा रहेको कडा उराई पास पार गर्दै घोडा, खच्चड र याकको सहयोगमा करिब छ दिनको कठिन पैदल यात्रापछि व्यापारीहरू ताक्लाकोट पुगेका हुन् ।
व्यापारीहरूले डोको, डाला, बाँसको परम्परागत भाँडो ‘ल्याक्च्या’, काठका बिँड, टिमुर, दाल तथा अन्य स्थानीय हस्तकलाका सामग्री बिक्रीका लागि ताक्लाकोट पुर्याएका छन् । तिब्बतको पुलान काउन्टी प्रशासनले नेपाली व्यापारीलाई व्यापारका लागि छुट्टै स्थान र सामूहिक अनुमति उपलब्ध गराएको छ । बझाङको स्थानीय बजारको तुलनामा ताक्लाकोटमा यी सामानले राम्रो मूल्य पाएका छन् ।
यद्यपि, लामो समय सीमा बन्द हुनु र प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्नाले हस्तकलाका वस्तुको मागमा केही कमी आएको व्यापारीहरूको अनुभव छ । अगस्टको पहिलो साता ताक्लाकोट पुगेका व्यापारीहरू तेस्रो सातातिर तिब्बतबाट नुन, कपडा र विद्युतीय सामग्री लिएर फर्किने योजनामा छन् ।
व्यापार खुले पनि मानसरोवरबाट पानी ल्याउने र पशु चराउने पुराना गतिविधिमा अझै केही सहजता आउन बाँकी छ । स्थानीय जनप्रतिनिधि र बासिन्दाले यस व्यापार पुनरावृत्तिलाई सकारात्मक रूपमा लिँदै दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सहज बनाउन माग गरेका छन् ।

