धनुषा । स्थानीयवासीले लामो पर्खाइपछि अख्तियारीसहित आफ्नो जमिनको औपचारिक धनीपुर्जा हात पारेका छन् । नापजाँच प्रक्रिया सकिएको झन्डै ११ वर्षपछि नापी कार्यालय धनुषाले मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएको हो ।
साविकको कजरारमौल गाउँ विकास समिति क्षेत्रमा पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मा नै सकिएको थियो । तर, जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता र प्रक्रियागत तत्परता कम हुँदा पुर्जा वितरण कार्य लामो समयसम्म ओझेलमा परेको थियो । नापी कार्यालयले विगतमा नापनक्सा भइसकेका ती जग्गाको बाँकी कानुनी प्रक्रिया पूरा गरी ११० थान पुर्जा तयार पारेर वितरण गरेको जनाएको छ ।
वर्षौँदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयले लालपुर्जा पाएपछि औपचारिक रूपमै जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।

