काठमाडौँ । निरन्तरको वर्षाका कारण देशका विभिन्न आठ जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा पहिरो र नदी कटानले यातायात सेवा प्रभावित बनेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार जोखिमयुक्त केही सडकमा रातको समयमा सवारीसाधन चलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ भने कतिपय स्थानमा पहिरोका कारण सडक ठप्प भएका छन् ।
सम्भावित बाढी र पहिरोको उच्च जोखिमलाई दृष्टिगत गरी काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, मकवानपुरको कान्ति लोकपथ र नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
यसैगरी पहिरो र हिलोका कारण इलामको राजदुवालीमा मेची राजमार्ग, सिन्धुपाल्चोकको कोदारी र लिपिङमा अरनिको राजमार्ग, तथा रसुवाका विभिन्न स्थानमा पासाङल्हामु र त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन् ।
रुकुम पश्चिमस्थित भेरी करिडोर र लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत रामबजारमा पनि पहिरोका कारण यातायात ठप्प छ । सडक अवरुद्ध रहेका क्षेत्रमा जोखिम कायमै रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
