चितवन । आयात रोकिएपछि उत्साहित बनेका चितवनका किसानहरू यतिबेला केराको उत्पादन बढे पनि उचित मूल्य नपाउँदा मारमा परेका छन् ।
केही समयअघिसम्म प्रतिकोसा नौ रुपैयाँसम्ममा बिक्री हुने केरा अहिले घटेर तीनदेखि चार रुपैयाँमा झरेको छ । बिक्री नभएर बारीमै केरा कुहिने डरले किसानहरू चिन्तित बनेका छन् ।
नेपाल केरा उत्पादक महासङ्घका अनुसार आयात प्रतिबन्धपछि किसानले तीन हजार बिघा थप गरी देशभर कुल २३ हजार बिघामा खेती विस्तार गरेका थिए । तर समयमै बजार व्यवस्थापन हुन नसक्नु र भोटेकोशी तथा त्रिशूलीको बाढीका कारण काठमाडौँ, पोखरा, नेपालगञ्जलगायतका ठूला सहरमा उपज पठाउन नसक्दा बजारमा मूल्य घटेको हो ।
एकातिर किसानले लागत मूल्य पाउन छाडेका छन् भने अर्कातिर उपभोक्ता भने अझै पनि प्रतिदर्जन १०० रुपैयाँभन्दा बढी तिर्न बाध्य छन् । फागुन, चैत र वैशाखसम्म आपूर्ति कायम राख्ने गरी योजना बनाएका किसानहरूले दसैँ, तिहार तथा छठ पर्व नजिकिएसँगै मूल्यमा केही सुधार आउने आशा व्यक्त गरेका छन् ।

