काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको समय तालिका एक दिन पछि सरेपछि काठमाडौँमा रोकिएका महाधिवेशन प्रतिनिधिहरूका लागि बसोबास र खानपिनको प्रबन्ध गरिने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले असोज २३ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने गरी संशोधित तालिका सार्वजनिक गरेपछि थपिएको समयका लागि यस्तो प्रबन्ध मिलाइएको हो ।
बासस्थान आवश्यक पर्ने प्रतिनिधिहरूले आफ्नो क्षेत्रीय सभापतिको सिफारिसमा केन्द्रीय कार्यालयसँग सम्पर्क गरी व्यवस्थापन मिलाउन सक्ने जानकारी दिइएको छ ।
यसैगरी आजको राति र भोलि बिहानको खानाको प्रबन्ध भने साविककै स्थान भृकुटीमण्डपमा मिलाइएको छ । सभापति गगन थापाले कार्यतालिका परिवर्तनका कारण पर्न गएको अप्ठ्यारोलाई परिस्थितिको बाध्यताका रूपमा बुझिदिन आग्रह गर्दै सबै प्रतिनिधिलाई एकजुट भएर बिहानैदेखि मतदानमा जुट्न आह्वान गर्नुभएको छ ।

