काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका क्रममा आफ्नो नाम दुरुपयोग गरेर उम्मेदवारहरूको प्यानल सूची प्रचारप्रसार गरिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा छरिएका त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिस नमान्न उनले प्रस्ट पारेका छन् ।
पार्टीको आन्तरिक निर्वाचनलाई स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्दै थापाले यस पटक कुनै पनि गुट वा प्यानल नरहेको दाबी गरे । महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा अफवाहको पछि नलाग्न आग्रह गर्दै उनले कसैको प्रभावमा नपरी पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर स्वतन्त्र विवेक, निष्पक्ष मूल्याङ्कन र व्यक्तिगत विश्वासका आधारमा मतदान गर्न अपिल गरेका छन् ।
प्राविधिक कारणले मतदान प्रक्रिया तय भएको समयभन्दा एक दिन ढिलो सुरु हुन पुग्दा महाधिवेशन प्रतिनिधिहरूलाई पर्न गएको व्यावहारिक असुविधाप्रति थापाले क्षमासमेत मागेका छन् ।
प्रतिनिधिहरूको परिपक्व र विवेकपूर्ण निर्णयले नै कांग्रेस सङ्गठनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण प्रक्रियामा मर्यादित, संयमित र उत्साहजनक रूपमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

